Wednesday, August 6, 2014

कुहिएको माछामासु खुलेआम बिक्री

हेटौंडा बजारमा रहेका मासु पसलले उपभोक्तालाई दुर्गन्धित र कुहिएको माछामासु बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।
    जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा बुधबार दिनभर नगरका करिब डेढदर्जन मासु पसलमा गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको हो । अनुगमनका क्रममा कुहिएको मासु बिक्री गर्ने चार वटा पसलमा टोलीले सिल गरेको छ । अनुगमन टोलीले न्यू मदन जिउँदो तथा ताजा माछा बिक्री  सप्लायर्स, साहिला राँगा मासु पसल, मनकामना मिट सप र भान्जा मिट सपमा सिल गरेको हो ।
अनुगमन टोलीले उपभोग गर्न उपयुक्त नभएका एक दर्जन पसलबाट माछा मासुसमेत जफत गरेको छ ।  पसलमा ढक तराजुमा खिया लागेको, मासु कुहिएर दुर्गन्धित भएको, मासु काट्न प्रयोग गरिने हतियारमा पनि खिया लागेको फेला पारिएको अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायव सुब्बा मदन श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीले मासु पसलहरुलाई गुणस्तरीय मासु बिक्री गर्न, भण्डारण सफा गर्न र मापदण्डअनुरुप प्रक्रियागत रुपमा दर्ता गरेर मात्रै पसल संचालन गर्न निर्देशन दिएको छ । बसपार्क क्षेत्रमा रहेका मासु पसलहरुमा अत्यधिक फोहोर भेटिएको टोलीले जनाएको छ । हेटौंडा नगरपालिका कार्यालयका सामाजिक विकास अधिकृत तथा प्रवक्ता भीमप्रसाद तिमल्सिनाले गुणस्तरहीन र फोहोर मासु बिक्री गर्ने मासु पसल संचालकलाई बोलाएर छलफल गर्ने बताउनुभयो । उनीहरुलाई पसल सुधार गर्न एक साताको समय दिइएको तिमल्सिनाले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक हेटौंडा नगरपालिकामा पशुबधशाला तथा मासु जाँच ऐन लागू भए पनि यहाँका उपभोक्ताले नै अझै सफा र उपभोग्य मासु उपभोग गर्न पाएका छैनन् ।
    नगर क्षेत्रमा दैनिक ८० वटा राँगा, ७५ वटा भन्दा बढी खसीबोका, १० वटा बंगुर र करिब एक हजार पाँचसय कुखुराको मासु खपत हुने गरेको माछामासु व्यवसायी संघका महासचिव नारायण राजथलाले बताउनुभयो । अनुगमनमा हेटौंडा नगरपालिका कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, माछा मासु व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चलगायत सरोकारवाला संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment