Saturday, July 19, 2014

क्यानडामा सम्झिए भानु


एडमन्टन आफ्नो दैनिक कामबाट फुर्सद निकालेर क्यानडाका विभिन्न ठाउँमा बसोबार गर्दै आएका आप्रवासी नेपालीहरु हालैका दिन एकै ठाउँ जम्मा भए । उनीहरुको साथमा थियो आदिकवि भानुभक्तको फोटो, राममायणका केही श्लोक र भानुको सम्झनामा आफूले लेखेका कविता । र, सहरका पार्क र कोठाहरुमा छुट्टा छुट्टै जम्मा भएर उनीहरुले नेपाली साहित्यका आदिकविलाई सम्भिmए ।
'साहित्य समाजको बिम्ब हो', एडमन्टनको कार्यक्रममा भेटिएका कवि रामकृष्ण शर्माले सुनाए, 'साहित्यले समयको एउटा कालखण्डलाई देखाउँछ । समाजको चेतना र विकासलाई झल्काउँछ । त्यसकारण आदिकवि भानुभक्तको योगदान नेपाली साहित्यमा स्मरणीय छ ।' र उनले कवितामार्फत भानुलाई यसरी सम्झिए,
सकिन मैले तिमीलाई बुझ्न
सकिन तिम्रो नगरीमा रम्न
भानु मलाई माफ गर ।
एडमन्टनस्थित नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे)ले कार्यक्रमको आयोजना गरेर साहित्यप्रेमीहरुलाई एकै ठाउँमा जुटाइ दिएको थियो । करिब डेढ सय नेपाली भानु जयन्ती मनाउन भेला भएका थिए । नेपाल सरकारले यसवर्ष भानुभक्तको २ सयौ शतवाषिर्की मनाउन विश्वभरका नेपाली प्रतिनिधि सहितको मूल समारोह समिति गठन गरेको छ । क्यानडाबाट कवि कुसुम ज्ञवालीलाई त्यसको प्रतिनिधि तोकेको छ ।
'क्यानाडा भरि विभिन्न कार्यक्रम गरेर भानुको दुई सयौ जन्म जयन्ती मनाइएको छ', ज्ञवालीले कान्तिपुरसित भने, 'नेपालीहरु जहाँ रहे पनि भाषा साहित्यप्रतिको लगावलाई भुल्न सक्दैनन् । यसले हामीलाई एक आपसमा जोडेको छ ।'
नेकासेका अध्यक्ष डा कुश्माकर शर्माले संस्थाले नेपाली कला साहित्य र संस्कृतिको सम्मानका लागि विगत वर्षमाजस्तै यसवर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए । उनले भने, यो नेपालीहरुको भेटघाटको अवसर हो । स्रष्टाहरुको सिर्जनाको सम्मान हो । हामी जहाँ रहे पनि यसले हाम्रो परिचय फराकिलो बनाउछ ।
कार्यक्रममा कविहरु शोभा भट्ट, विजय ढकाल, स्थानेश्वर आचार्य, आइबहादुर गुरुंग, केशव श्रेष्ठ, ध्रुव श्रेष्ठ, ज्ञानवीर थापा, भमरा अर्याल, नारायण पोखरेल लगायत कविहरुले आआफ्ना कवितामार्फत भानुभक्तलाई सम्झे । कविता कार्यक्रमका संयोजक मोदनाथ खनालले छन्द कविता लयमा सुनाएर सबैलाई मन्त्रमुग्ध बनाए भने गायक, संगीतकार इश्वर खत्रीले खारिएको गलाले स्वदेश गान प्रस्तुत गरे । एउटा समूहले रामायणका श्लोकहरु गाएपछि स्कुले नानीहरुले नृत्य प्रस्तुत गरे ।
त्यस्तै क्यानडाको अर्को शहर क्यालगरीमा नेपाली साहित्य समाज क्यालगरीको आयोजनामा भानु जयन्ती मनाइएको छ । समाज स्थापनाको दोश्रो वर्षको अवसरमा गरिएको कार्यक्रममा भुवन पराजुलीले साहित्य र भानुभक्तको लेखनबारे समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा सुषमा खनाल, विशाल ढुंगल, गोविन्द लुइटेल, कृष्ण दाहालमुना ढुंगेल, राजेन्द्र प्रसाइ लगायतले आआफ्ना सिर्जनामार्फत भानुलाई सम्झे ।
टोरन्टोमा भने फुटबल प्रतियोगिता गरेर भानुको सम्झना गरिएको छ ।

No comments:

Post a Comment