Saturday, July 19, 2014

एसएलसी अनुत्तीर्णका लागि रोजी-छानी प्राविधिक कोर्स

कुनै पनि परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुँदैनन्। विश्वविद्यालयका अधिकांश संकाय वा विषयदेखि विद्यालय स्तरसम्म शतप्रतिशत नतिजा आएको तथ्याङ्क विरलै मात्र पाइन्छ। कहीं-कतै अपवादका रूपमा यस्तो नतिजा आए पनि धेरैजसो परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको सूची लामै हुन्छ। एसएलसी परीक्षामा पनि उत्तीर्ण हुनेभन्दा अनुत्तीर्ण हुनेहरूको बाहुल्यता रहन्छ। अनुत्तीर्ण भएपछि धेरै विद्यार्थीमा निराशा बढ्छ। उमेरले पनि विद्यार्थीलाई नकारात्मक सोचतर्फ केन्दि्रत गर्छ। निराशा र हीनताबोधका कारण विद्यार्थीले गलत बाटो रोज्न पनि सक्छन्, तर अब एसएलसीमा अनुत्तीर्ण हुँदैमा निराश भएर बस्नुपर्दैन। एसएलसीलाई 'आइरन गेट' नै मान्नुपर्छ भन्ने अवस्था पनि छैन।

विश्वमा भएको प्रविधिको विकासले नेपालमा पनि ठूलो फड्को मारेको छ। नेपालमा पनि रोजगारमूलक नयाँ-नयाँ विषयहरू भित्रिरहेका छन्। प्राविधिक शिक्षाले एसएलसी अनुत्तीर्ण विद्यार्थीलाई पनि समान अवसर प्रदान गर्न थालेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का वरिष्ठ लेखाअधिकृत शिवप्रसाद खनाल भन्छन्- 'हामीसँग एसएलसी अनुत्तीर्णहरूका लागि थुप्रै रोजगारमुलक कोर्स छन्, यी कोर्सको अध्ययनले विद्यार्थीलाई निराशामुक्त मात्र गर्दैनन्, रोजगारीमा समेत सहयोग पुर्‍याउँछन्।'

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले एसएलसी अनुत्तीर्ण भएर बसेका विद्यार्थीहरूलाई आशावादी बनाउन बर्सेनि नयाँ-नयाँ सीप एवं रोजगारमुलक कोर्सहरू सञ्चालनमा आइरहेको खनालले जानकारी दिए। 'प्राविधिक शिक्षालेे यति ठूलो फड्को मारेका बेला एसएलसी अनुत्तीर्ण भएकाहरूले निराशामुक्त हुने बेला आएको छ,'उनले भने। सिटिइभिटीका देशभर छरिएर रहेका आंगिक प्राविधिक शिक्षालय, सामुदायिक विद्यालय, सम्बन्धन प्राप्त निजी शिक्षालय वा कलेजहरूमा त्यस्ता कोर्स सञ्चालनमा छन्। एसएलसी अनुत्तीर्ण भएकाहरूका लागि २९ महिने कोर्स पनि छन्। स्वास्थ्य, इन्जिनियरिङ, कृषि र अन्य विषयमा यस्ता कोर्स सञ्चालनमा छन्।

यस्ता छन् कोर्स

जेटीए : कृषि विधाअन्तर्गत जेटीएका विभिन्न कोर्स छन्। यसमा 'एनिमल हेल्थ' र 'एगि्रकल्चर लाइभस्टक प्रोडक्सन' पनि पर्छन्। यो दुईवर्षे कोर्स हो, जसमध्ये ५ महिना कुनै पनि सम्बन्धित कार्यालयमा बसेर तोकिएको ठाउँमा अन द जब टे्रनिङ  गर्नुपर्छ। यो कोर्स पूरा गरेपछि कृषि विधाका सरकारी तथा गैरसरकारी कार्यलयमा काम गर्ने अवसर मिल्छ।

एग्रो मेकानिक्स : कृषि विधाकै एग्रो मेकानिक्स कोर्स २ वर्षको हुन्छ। कृषि क्षेत्रमा आवश्यक पर्ने मेसिनको मर्मतसम्भार र जडानका कामहरू यसअन्तर्गत पर्छन्। यो व्यावहारिक कोर्स हो। कृषिमा प्रविधिको प्रयोग बढिरहेका बेला यो कोर्स उपयोगी हुनसक्छ।

फुड टेक्निकल असिस्टेन्ट : खाद्य प्रविधिअन्तर्गतको यो कोर्स कृषि विधाभित्रकै हो। यो कोर्स दुई वर्षको हुन्छ। यो कोर्स पूरा गरेपछि खाद्य प्राविधिकका रूपमा रोजगारी प्राप्त गर्न सकिन्छ।

सडक र पुल ओभरसियर : प्राविधिक शिक्षाअन्तर्गतको यो कोर्स इन्जिनियरिङ विधाअन्तगर्न पर्छ। यो दुईवर्षे कोर्स हो। पढाइ सकिएपछि थप पाँच महिना तोकिएको ठाउँमा अन द जब टे्रनिङ गर्नुपर्छ। नेपालमा विकास-निर्माणका काम धमाधम भैरहेका छन्। सडक र पुलहरू निर्माण गर्नुपूर्व ओभरसियरले नक्साकंन र डिजाइन गर्नुपर्छ। त्यसका लागि यो कोर्स उपयोगी छ।

जनरल कन्स्ट्रक्सन : यो पनि इन्जिनियरिङ विधाकै कोर्स हो। जुनसुकै निर्माण क्षेत्रसँग सम्बन्धित काममा यो कोर्स गर्ने जनशक्तिको आवश्यकता पर्छ। यसमा पनि दुई वर्षसम्म क्लास लिएर पाँच महिना तोकिएको ठाउँमा अन द जब टे्रनिङ गर्नुपर्छ।

बिल्डिङ इलेक्टि्रसियन : यो दुई वर्षे कोर्स हो। निर्माणाधिन आधुनिक भवनभित्र विद्युत् जडानका लागि आवश्यक पर्ने ज्ञान यो कोर्सभित्र पर्छन्। यो कोर्स स्वदेश तथा विदेशमा रोजगारीका लागि उपयोगी छ।

अटो मेकानिक्स र अटो मोबाइल : यी दुइटै कोर्स दुई-दुई वर्षका हुन्। यसमा पाँच महिना तोकिएको ठाउँमा अन द जब टे्रनिङ  गर्नुपर्छ। सवारी साधनका पार्टपुर्जा कनेक्सन, मर्मत-सम्भार आदिको अध्ययन यो कोर्सभित्र पर्छन्।

सीएमए : स्वास्थ्य विधाको सीएमए कोर्स पनि एसएलसी अनुत्तीर्ण भएपछि पढ्न पाइन्छ। यसमा पनि दुई वर्षसम्म निरन्तर क्लास लिनुपर्छ भने ५ महिना तोकिएको ठाउँमा अन द जब टे्रनिङ  गर्नैपर्छ। यो कोर्स पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा रोजगारीको सम्भावना हुन्छ।

एनएम : यो कोर्स स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छ। यसमा एसएलसी अनुत्तीर्ण र एसएलसी उत्तीर्ण दुवै किसिमका विद्यार्थीलाई भर्ना लिइन्छ। यसमा दुईवर्षे कोर्स र पाँचमहिने तोकिएको ठाउँमा अन द जब टे्रनिङ  पूरा गर्नुपर्छ।

एक्जुलरी नेचर केयर वर्कर : यो कोर्स प्राविधिक क्षेत्रका लागि नौलो कोर्स हो। यो आर्युवेदसँग सम्बन्धित छ। यसमा पनि दुई वर्षसम्म निरन्तर कक्षा लिनुका साथै ५ महिना तोकिएको ठाउँमा अन द जब टे्रनिङ गर्नुपर्छ।

एक्जुलरी नर्सिङ मिडवाइफ : यो कोर्स नेपालमा भित्रिएको लामो समय भैसकेको छ। यद्यपि यसबाट उत्पादित जनशक्तिको संख्या पर्याप्त छैन। यो कोर्स उपयोगी पनि छ। यो दुईवर्षे कोर्स हो जसमा पाँच महिना तोकिएको ठाउँमा अन द जब टे्रनिङ  अनिवार्य छ।

शैक्षिक मान्यता 

प्राविधिक कोर्सका लागि एसएलसी उत्तीर्ण र अनुत्तीर्णहरूका लागि फरक-फरक कोर्स निर्धारण गरिएको छ। उत्तीर्ण भएकाहरूका लागि १५ महिने र अनुत्तीर्णहरूका लागि २९ महिने कोर्स सञ्चालित छन्। अधिकांश कोर्समा ४८ जनाको कोटा छुट्टयाइएको छ। यी कोर्स पूरा गर्नेहरूले सरकारको लोकसेवा आयोगमा प्राविधिक खरदारका रूपमा प्रतिस्पर्धा गर्न पाउँछन्। तहको हकमा चौथो स्तरमा र श्रेणीका हकमा तृतिय श्रेणीमा लोकसेवा भिड्न पाउँछन् भनेउनीहरूले प्राविधिक खरिदारका रूपमा मान्यता प्राप्त गर्छन्। सिटिइभिटीले आफ्ना आंगिक स्कुलहरूमा एसएलसी अनुत्तीर्ण विद्यार्थीलाई भर्ना लिन्छ। यसबाट उत्पादित जनशक्ति शैक्षिक प्रमाणपत्र नपाए पनि राम्रो प्राविधिक बन्न सक्छन्। अनुत्तीर्ण भएकाहरू पनि सीपमा दख्खल हुने भएकाले यस्ता कोर्सप्रति आकषिर्त छन्।



अनुत्तीर्ण विद्यार्थीको पक्षमा

यो वर्ष एसएलसीमा सहभागी ५ लाखभन्दा बढी विद्यार्थीमध्ये ३ लाख ५९ हजार ३ सय ४८ जना अनुत्तीर्ण भए। परीक्षामा उत्तीर्ण र अनुत्तीर्ण हुनु कुनै आश्चर्यजनक घटना होइन। त्यसैले एसएलसी अनुत्तीर्ण हुँदैमा विचलित भैहाल्नुपर्ने अवस्था पनि छैन।

एसएलसीले नै समग्र जीवनको लेखाजोखा गर्ने होइन। एसएलसी अनुत्तीर्ण हुँदैमा सम्भावनाका ढोका बन्द हुने पनि होइन। किनभने एसएलसी परीक्षामा सोधिने प्रश्नहरू त्यस्ता छैनन्, जसले विद्यार्थीको बहुआयमिक क्षमता जाँच्न सकोस्। कुनै खास क्षेत्रमा अब्बल विद्यार्थी एकाध विषयमा कमजोर हुन सक्छन्। त्यही कमजोरीले उसलाई परीक्षामा चिप्लाइदिन्छ। किनभने विद्यमान परीक्षा प्रणालीले दुईभन्दा बढी विषयमा निर्धारित अंक हासिल नगरे अनुत्तीर्ण गराइदिन्छ। त्यसैले गणितीय मापनका आधारमा अनुत्तीर्ण हुँदैमा कुनै पनि विद्यार्थी समग्रमै अनुत्तीर्ण हुन्छन् भन्ने छैन। उसमा भएको कुनै एउटा गुण, दक्षता व्यावहारिक जीवनका निम्ति पर्याप्त हुनसक्छ। त्यही दक्षताका भरमा उसले आफ्नो उचाइ तय गर्न सक्छ।

विद्यालय शिक्षामा कमजोर विद्यार्थी अन्य क्षेत्रमा होनाहार भएर निस्किएका प्रशस्तै उदाहरण छन्। अल्बर्ट आइस्टाइन पढाइमा कमजोर थिए। एकपटक अंकगणितका शिक्षकले उनलाई भनेका थिए, 'तिमीले गरिखान सक्दैनौ।' महात्मा गान्धी पनि स्कुल जीवनमा  'बि्रलियन्ट' थिएनन्। बिल गेट्सले आधा बाटोमै पढाइलाई बिट मारेका थिए। परीक्षामा अनुत्तीर्ण हुँदैमा जीवन असफल हुँदैन। त्यसपछि पनि सम्भावनाका आधार बाँकी रहन्छन्।

एसएलसीमा अनुत्तीर्णहरूमध्ये कतिपय साउन २० गतेदेखि हुने पुरक परीक्षामा सामेल हुँदैछन्। बाँकीले अर्को एक वर्ष कुर्नुपर्नेछ। यो एक वर्षको ग्यापले आफ्नो कमी कमजोरी सुधार्ने मौका दिनेछ, जसले गर्दा अर्को वर्ष अपेक्षित नतिजा हासिल गर्न सकियोस्।

चलनचल्तीका भाषामा एसएलसीलाई 'उच्चशिक्षाको प्रवेशद्वार' भनिन्छ। यद्यपि वैकल्पिक बाटाहरू अरू पनि छन्, जहाँबाट प्रवेश गरेर कृषि, मेडिकल, इन्जिनियरिङजस्ता रोजगारमूलक क्षेत्रमा करियर बनाउन सकिन्छ। सिटिइभिटीले एसएलसी अनुत्तीर्णलाइ लक्षित गरेर २९ महिने 'प्राविधिक एसएलसी'को ५५ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ, जसलाई त्रिभुवन विश्वविद्यालयले तहअनुसार समकक्षतासमेत प्रदान गर्छ। एसएलसी अनुत्तीर्णले कुनै पनि विषयमा प्राविधिक एसएलसी गरेर आफ्नो लक्ष्य पहिल्याउन सक्छन्। त्यसबाहेक छोटो अवधिका रोजगारमूलक कोर्स पनि गर्न सकिन्छ। शैक्षिक दक्षता नभएका तर हातमा सीप भएकाहरूले 'सीप परीक्षण'बाट आधिकारिक रूपमा योग्यताको प्रमाणपत्र लिन सक्ने व्यवस्था पनि छ।

हिन्दी चलचित्र थ्री इडियट्समा एउटा संवाद छ, 'कामयाब नही काबील बनो।' अर्थात् सफल होइन सक्षम बन्ने प्रयास गर्नुपर्छ। सक्षम बन्नका लागि विश्वविद्यालयको डिग्री नै लिनुपर्छ भन्ने छैन। प्राविधिक एवं व्यावसायिक शिक्षा आर्जन गरेर आफ्नो अध्ययनको परिधि बढाउन सकिन्छ। अध्ययनपछि सोझै रोजगार बजारमा प्रवेश गर्नेहरूका लागि त यो अझ सरल र छोटो बाटो हो।

एसएलसी अनुत्तीर्ण भएपछि कतिपय विद्यार्थीमा पलायन हुने प्रवृत्ति छ। एक वर्षको ग्यापले अध्ययनको सिलसिला टुट्ने भएकाले यही अवधीमा उनीहरू पढाइलाई बिट मारेर लाखापाखा लाग्छन्। तथ्यांकले पनि यो कुरा उजागर गर्छ।

एसएलसी अनुत्तीर्ण भएपछि विद्यार्थीमा नैराश्यता जाग्ने, हीनतावोध हुने मनोविज्ञ करुणा कुँवर बताउँछिन्, जसले उनीहरूमा अध्ययनप्रति वितृष्णा पैदा हुन्छ। परिणाम पढाइ आधा बाटोमै मृत्युको मुखमा पुग्छ।

विद्यार्थीले १० वर्षे अध्ययनको सार नै 'एसएलसी उत्तीर्ण हुनु' भन्ने बुझेकाले पनि यस किसिमको नकारात्मक असर परिरहेको बताइन्छ। यसले उनीहरूमा दबाब सिर्जना गरेको छ। एसएलसी अनुत्तीर्ण भएसँगै त्यस्तो दबाब सामना गर्न नसक्दा कतिपय विद्यार्थी डिप्रेसनको सिकार हुने मनोविज्ञ कुँवर बताउँछिन्।

'परिवार, शिक्षक एवं साथीभाइसामु आफूलाई कमजोर महसुस गर्छन् र डिप्रेसनमा जान सक्छन्', कुँवर भन्छिन्, 'कतिपयले आत्महत्या गर्नुका पछाडि यिनै कारण लुकेका छन्।'

 यद्यपि परिवार एवं समाजले पढाइको सही अर्थ बुझाइदिने हो भने यस किसिमको जटिलता नदेखिने उनको तर्क छ। 'परीक्षामा फेल हुँदैमा विद्यार्थीलाई कमजोर आँक्ने मानसिकता त्याग्नुपर्छ,' कुवँर भन्छिन्, 'जसले उनीहरूलाई सकारात्मक ऊर्जा दिन्छ।'



सौरभराम जोशी, प्रवक्ता

सिटिइभिटी

एसएलसीमा अनुत्तीर्ण विद्यार्थीका लागि के-कस्ता कार्यक्रम सञ्चालन भैरहेको छ ?

एसएलसी अनुत्तीर्णहरूले २९ महिने टी-एसएलसी अर्थात् प्राविधिक एसएलसी गर्न सक्छन्।

यसमा कुन-कुन कार्यक्रम छन् ?

थुप्रै छन्। इन्जिनियरिङअन्तर्गत सिभिल, इलेक्ट्रोनिक्स, अटोमेकानिक, प्लम्बिङ आदि छन्। त्यस्तै, मेडिकलतर्फ सिएमए, अनमी छन्। कृषिमा भेटेनरी जेटिए र प्लान्ट जेटिए छन्। त्यसबाहेक पनि छोटो अवधिका थुप्रै कार्यक्रम सञ्चालन भैरहेका छन्, जुन दुई हप्तादेखि तीनमहिनासम्मका छन्।

यी कोर्सहरू कहाँ पढ्न पाइन्छ ?

सिटिइभिटीका आंगिक शिक्षालयमा यी कार्यक्रम सञ्चालित छन्। त्यस्तै, नेपालभरका ७३ वटा जिल्लाका ७३ वटै सामुदायिक विद्यालयमा पनि यस्ता कोर्स गर्न सकिन्छ।

खर्च कति लाग्छ ?

औसतमा वाषिर्क ४ देखि ५ हजार रुपैयाँसम्म।

यी कोर्स गरिसकेपछि एसएलसीकै समकक्षता प्रदान गरिन्छ त ?

तहअनुसार समकक्षता प्रदान गरिएको छ। जस्तो इन्जिनियरिङ गर्नेले पुल्चोक क्याम्पसमा भर्नाका लागि आवेदन दिन सक्छन्। यद्यपि केही मापदण्ड भने पूरा गरेको हुनुपर्छ। 

No comments:

Post a Comment